तिमीलाई भेट्न आउँदैछु - ज्ञानेन्द्ररत्न वज्राचार्य
प्रीय तिमीलाई भेट्न म आउँदैछु
आउँछु अवश्य म निश्चित समयमा ।
तिमी मेरो प्रतिक्षामा निश्चिन्त रहिरहुन्
आउँछु म प्रणय दिवसको प्रथम प्रहरमा ।। १ ।।
खाँदा, सुत्दा, बस्दा र जहाँसुकै जाँदा
अनायास सम्झना हरदिन तिम्रै मात्र ।
कोही अपरिचित अन्जानलाई देख्दा
मेरो हृदय भित्र झझल्को तिम्रै मात्र ।। २ ।।
रातो फूल गुलाफ मेरो उपहार तिमीलाई
टक्राउँछु प्रेम प्रस्ताव निसंकोच ग्रहण गर्नु ।
सेतो फूल गुलाफ मेरो उपहार तिमीलाई
टक्राउँछु साँचोमाया हृदयबाट स्वीकार गर्नु ।। ३ ।।
कहिल्यै नटुट्ने असीम मायाप्रीतिको बन्धन
कसिनु छ आजै दुई बिचको प्रेम समझदारीमा ।
पवित्र मित्रताको प्रतीक ईमान्दारीताको संगम ।
जोडिनु छ छिट्टै दुई बिचको सुमधुर विश्वासमा ।। ४ ।।
प्रीय आज वर्ष दिनको महत्वपूर्ण दिवस
प्रतिक्षा गर्नु म अवश्य भेट्न आउँदैछु ।
हाम्रो कल्पना र सपनाको मिलन दिवस
रोकतोक बाधा छैन म सहजै आउँदैछु ।। ५ ।।
यौवनको क्षणिक आशक्तिमा कहिल्यै डुब्दिन म
नारी अस्मिता र रक्षाको हर क्षण सम्मान गर्दछु म ।
पवित्र निष्कलंक प्रेमको सदाबहार पुजारी हुँ म ।
नारी दमन, हत्या र हिंसाको संधै विरोधी हुँ म ।। ६ ।।
तिम्रो योग्यता र सहनशीलताबाट म प्रभावित
तिम्रो शरीरको सौंदर्य र रुपबाट म झनै मोहित ।
तसर्थ तिमी विनाको जिन्दगी अधुरो र अपुरो
प्रतिक्षामा छु होस् छिट्टै लगनगाँठो म सित ।। ७ ।।
एक सिक्काको दुई पाटा हो यो हाम्रो जीवन
जोड्न सके हुँदैन जिन्दगी कहिल्यै जलन ।
प्रगतिपथमा तिम्रो र मेरो भइसक्यो मिलन
तर तिम्रो हृदयमा के छ ? म प्रतिको दिलन ।। ८ ।।
यति धेरै कुराको बाचा बन्धन पूरा गर्नु छ
त्यसैले आउँदैछु प्रीय म प्रणय दिवसमा ।
तिमीलाई भेट्ने अवसरको साईत जुडेको छ
प्रतिक्षा गर्नु आउँदैछु म तोकेकै समयमा ।। ९ ।।
।। समाप्त ।।
१५ वडा, च्वय्बुँ धिमेल्वहँ काठमाडौं ।
0 Comments