कविता : मेरा बा
बिहान भाले नबास्दै
आँगनमा उज्यालो नखस्दै
जुरुक्क उठ्छन मेरा बा
आग्लो सार्छन, जस्केलो खोल्छन
उनी नित्य गाउँलाई उठाउन उठ्छन
रातलाई लर्घान उठ्छन
झिसमिसे मै गग्रेटोमा पुग्छ पानी
ठोसाठोस पारेर दाउरा
सल्काउनु छ आगो , फत्काउनु छ झ्याङगा भरी खोले
म बाको हातमा उठेका ठेला हेर्छु
थाप्लोमा नाम्लोको डाम छाम्छु
मेरो सुखका लागि बाले आफ्नो सुख बेचेको देख्छु
भोकै सुतेका रातहरु सम्झन्छु
डडाल्नोमा पसिनाले भिजेको दौरा
थाप्लोमा डोरा खुस्केको टोपी
बतासले दछारेको घरको धुरी
छिन्न लागेको भैसीको दाम्लो
सबै सबैमा बाको पसिना बगेको देख्छु
बालाई थाहा छ
किस्ताबन्दीमा बितेको उमेर आफ्नो भएन
मलाई पढाउने सम्पति उनीसँग छैन
यिनै दुःखलाई जीवन ठानेर
साँच्चै हासिरहेछन मेरा बा ।
भलादमी भोला( ओखलढुंगा )
मोः ९८४३०५४१६१
0 Comments