गोपाल खनाल
बा (कविता)
बा, सरल तर
गहन अर्थ बहन गर्ने शब्द
रहनसहन,पर्व संस्कार
लाग्छ बा सब हुन् ।
धर्तिपुत्र मेरा बा
बालखैमा बा गुमाएपछि
लाटी आमा र दिदीहरुकै मायामा
घाम होइन छायामा हुर्किए ।।
जिम्मेवारी बोध गरी व्यवहार धानेका
मेरा बाको दुःख
ख्याउटो शरीर र पट्पटि
फुटेका पैताला देखेरै महशुस गर्थेँ
आज आफैँ बा भएपछि
अझ बढी बा भोग्दैछु ।।
गधा, जिराफ र लाटोकोसेरो भएर
बाँच्नुपर्ने त्यो समय
राणा शासनदेखि गणतन्त्रसम्मको यात्रा
जीवन जात्रा भोगेका मेरा बाले
गह्रौँ भारीका साथ
१२ घण्टा हिँडेर बजार आऊजाऊ
गर्दै झन्डै दर्जन सन्तानको जिम्मेवारी
कसरी निभाएहोलान् ??
रोग, भोक, शोक सहेर
आँखामा समुन्द्र बोकेर
आगो बाँचेका सोझा, इमान्दार
मेरा बाको कडा रिस मैले देखेको छु
सायद शान्त सोझो मान्छेको रिस कडै हुन्छ क्यारे !
बुढेसकालमा जन्मिएको म
कान्छाले पाल्ला भनेपनि
अक्षर चाल्न सहर छिरेको म
अक्षर केलाएर नसक्दै ,
बाले हजार साटेर बजारबाट ल्याइदिए जस्तै
कमिज आफ्नै कमाइले लगाइदिन नपाउँदै
सेवा गर्नबाट विमुख बनाएर
बाले आँखा चिम्लिनुभएको ९ वर्ष नाघेछ ।
बा मान्छेले देखेका धेरै सपना पूरा नहुँदा रहेछन् है ?
बाले ऋण
न बोक्नुभयो, न बोकाउनु भयो
सिकाएर सरल जीवनको पाठ
टिकाएर इमान्दारिता
तपाईँले घाँससँगै कति रहर काट्नु भयो
पटकपटक चुडिएका चप्पल गाँसे जस्तै
गाँसेर आशाका त्यान्द्राहरु
माटासँगै साट्नुभयो पुरै जिन्दगी
दुःखमा ढाट्नुभयो आफैँलाई ।।
साथीहरु
बाको समसाथ रमाउँदै
हिँडडुल गरेको देख्दै गर्दा
धुमिल आँखा सेक्दै
सम्झन्छु, बा त साथी पनि हुन्
जाती अनि सबैभन्दा माथि हुन् ।।
त्यति बेला
जन्म र मृत्यु नचाहेर हुन्छ भन्ने भुलेर
बाले मलाई ढिला जन्माएछन् भन्ने सोच्छु ।।
माफ गर्नुहोस् बा
सन्तान हुनुको अर्थ
जिम्मेवारी पूरा गर्नु थियो
शिक्षाको उज्यालो छर्दै गर्दा
तपाईले दुःखले आर्जेको
जमिन आज बाँझै छ
तपाईँको सङ्घर्षको कथा ताजै छ अझै स्मृतिमा
अर्काको घर उज्यालो पारेर
आफ्नै घर अन्धकार बनाउँदाको
पीडा म कसरी सहुँला ।
अनि भागेर पो कहाँ जाऊँ म
पूरा गर्नै छ मैले पनि बा हुनुको कर्तव्य ।।
आकाशभन्दा व्यापक बा
आकाश बिनै धर्तिमा बाँच्नुको
पीडा भोग्दै छु म
बा जिन्दगी जिउने आधार हुन्
बा जिन्दगीका सार हुन्
बा गुमाएपछि त झन् बढी बाको महिमा
छर्लङ्ग भएको छ घामजस्तै ।।
नुवाकोट, तारकेश्वर गाउँपालिका–१,दाङसिङ
0 Comments