बा नाउँको पुस्तक
एउटा सजीव किताब
जसमा थियो , जिन्दगीको हिसाब
पाना पल्टाएँ
हेरें
पढें
आँसुको लौरी टेकेर
पसिनाको खोल्सी तरेर
पहाड चढ्दा
रक्तिम मसीले गरेको
उकालीको जोड
ओरालीको घटाउ
समथरको गुणाण पाएँ
त्यो सजीव किताब भित्र
शब्द र अंक स - चित्र ।
पाना फेरी पल्टाएँ
केलाएँ
घामको छाता ओडेर
पटुकीले भोक कसेर
जिन्दगीको लगाम कस्दा
हत्केलाको फोका फुटेर प्रतिपादित
सुत्र भेटाएँ
पाइथा गोरसको भन्दा फरक
तर ,
जीवन जिउने सुत्र
सन्तान हुर्काउने
बढाउने
पढाउने
आफ्नै खुट्टामा सन्तान उभ्याउने सुत्र
त्यो सजीव किताब भित्र ।
अझै पाना पल्टाएँ
चित्र केलाएँ
अभावमा पिल्सिंदाको जस्तो
दुखमा रुमलिंदाको जस्तो
कोण भेटाएँ
त्रि -भुज
चतुर्भुज
सरल रेखा छंदै थिएन
त्यसैले , म रोएँ
भक्कानेर रोएँ
हेर्दै बक्र चक्र
त्यो सजीव किताब भित्र ।
म यसर्थ रोएँ
म बाको जीवन भोगाई पढ्दै थिएँ
मलाई जन्माए
सक्षम बनाए
मेरो लागि जीवन खर्चे
त्यही हिसाब हेर्दै थिएँ
सम्हाल्नै सकिन मैले आफुलाई
हेर्दै रोएँ , बाको अनुहारलाई
बाले गरेको दु:ख देखेर
म रोएँ भक्कानेर
ढोग्दै बाको चरण नतमस्तक
पढें मैले बा नाउँको पुस्तक
त्यो सजीव किताब भित्र
बालाई स - चित्र ।
बिके माकजू ,
झौखेल भक्तपुर ।
0 Comments