म पर सरेकि छु ।
न फर्म भरेँ
न रजिष्ट्रेसन गरेँ
विधिकाे विधान हाेकि
खै कस्काे खेल
मैले कपडा सिलाउनेकाे घरमा जन्म लिएँ
हाे मेराे बाले फलाम पिट्छन
मेराे बाले जुत्ता सिलाउँछन
मेराे बाले सिलाएकाे कपडा बाेकेर
अर्चापेकाे हँसिया बाेकेर
तिम्राे दैलाे टेक्नै लाग्दा
तिम्रा बाले
आँगनकाे पल्लाे छेउमा
मलाई किन सार्छन?
विहानभरि
ढाेड खेत हिल्याएर
दुई गाँस च्याप्न वलेसिमा बसेका मेरा बा
आफैँले बनाईदिएकाे कुँडेमा
तातेकाे लाउरि भैँसिकाे दूध र भात
मझेरिमा बसेर
तिम्रा बाले
सुरुप सुरुप खाईरहदाँ
नुन सँग ढिँडाे
किन खान्छन मेरा बा?
तिम्रा बाले भात खाएकाे
चरेसकाे थाल
तिम्रि आमाले पखालेर
तखेतामा खाेप्टाइरहँदा
मेराे बाले ढिँडाे खाएकाे
सिलावरकाे थाल
आँगनकाे डिलमा
किन सार्छिन तिम्रि आमा ?
पँधेरिमा
आँगनिमा
मेला पात , अर्म पर्ममा
पटक पटक
मेराे श्रम शाेषण गरेर
अत्याचार र अपमान गरेर
मलाई पर सारिएकाे छ
आज म याैवनमा फक्रेर फूलेकाे दिन
तिमिहरुकाे अत्याचारका विरुद्द
वलिदान दिन
एउटा सपूत जन्माउन
समाज रुपान्तरणका लागि
सामाजिक विभेद अन्त्यका लागि
म पर सरेकि छु ।
समयकाे चक्रसँगै
आज श्रीमान श्रीमतिबाट
बाबू छाेराबाट
आमा छाेरिबाट
मान्छे मान्छेबाट पर सरेकाे छ
एक अपराधिलेझै
मुखमा मास्क लगाएर
बन्द काेठाभित्र
एकले अर्काेलाई छुन डराईरहेछ
दिनकाे चारपटक
चाैरासि व्यञ्जन खाएर
चाैधदिन पर सर्दा
भगवानहरुले चाकडि गर्दा
त्याे काेठाकाे चार भित्ता
चार काेस जस्तै लागेकाे छ
म
सदियाैँदेखि
अमानवियताकाे जन्जिरमा
बन्दी बनेर
पर सारिँदा
मलाई कस्ताे अनुभूति भयाे हाेला ?
म
पटक पटक पर सरेकाे मान्छे
यसपालि
काेराेना लागेर
पर सरेकि छु ।
दीपक नेपाल
२०७८/०२/१९
0 Comments