Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

भकिम्लीबासीले देखेको सपना ।।



भकिम्ली बेनी नगरपालिका वडा नं. ३ मा पर्ने एक सुन्दर ठाँऊ हो । म्याग्दी जिल्लाको सदरमुकाम सँग जोडिएको भएता पनि, संङख्यात्मक रुपमा केही बिद्यालय तथा सडकले जोडिएको भएता पनि गुणात्मक रुपमा सदरमुकाम सँग जोडिएको स्थान भन्न हिचकिचावत हुनसक्छ । युवाहरु बिदेशी रोजगारका लागि उत्साहित हुने हुनाले जिल्लाको अन्य क्षेत्रको तुलनामा शैक्षिक क्षेत्रमा कमजोर नै देखिदै आएको छ । राजनैतिक चेतनामा कमजोर उपस्थीति यहाँको बिकाशको अविसाप बनेको छ । बिदेशिएका युवाको बाहुल्यता भएको हुनाले यो स्थानलाई राजनैतिक भोटबैकको रुपमा लिने गरेको विगतका इतिहाँसहरुबाट थाहा पाउन सकिन्छ ।
राजनैतिक दलले आनो घोषणा पत्र मार्फत जनतालाई लोभ्याउने योजना सुनाइरहदा भकिम्ली बासीले पनि यस क्षेत्रको सुन्दर विकासको सपना देख्नु स्वभाविकै हो । यस क्षेत्रको स्रोत साधन र जनशक्तिको उचित प्रयोग गरि द्रुततर रुपमा विकाश गर्न सकेको खण्डमा चुनिएका मेयर तथा यहाँका वडा अध्यक्षको बौद्धिकता र क्षमतालाई यहाँको जनताले सम्मान गर्ने छन भने, फेरी पनि मत लिएर पुन नेतृत्व गर्ने अवसर पनि सुनिश्चित हुनेछ तर बिगतका राजनैतिक दलका जस्ता हविगत दोहोरिएको खण्डमा भकिम्लीको जनताले त्यो अवसरबाट बन्चित गर्न बाध्य हुनेछन ।
भकिम्लीको आनै पहिचान र सांस्कृतिक धरातलमा कम खर्चमा उच्चतम बिकाश खोजिरहेको छ । परम्परागत कृषि, कठिन भौगोलिक अवस्थिति, प्राकृतिक प्रकोप, अदक्ष कामदार,बैदेशिक रोजगारमा भर पर्नु, जातीय छुवाछुट, अन्धबिस्वास, महिला उद्यमशिलताको अभाव, बसाइसराई, राजनैतिक प्रयोगशालाको भूमीहुनु आदि यहाँका मुख्य चुनौती हुन । यही चुनौतिलाई कम गर्दै दुर्तगतिमा २१औ शताव्दिको बिकाशमा लम्कनु यहाँको जनताको मुख्य अपेक्षा हो ।
सुन्दर भकिम्ली विकाशको लागि सम्भावित स्रोतहरु के के हुन ?
१)कृषिः भकिम्ली पहाडी भिरालो भु धरातल र थोेरै चिसो हावापानी भएको हँुदा यहाँ फलफूल र तरकारी खेतीको लागि प्रशस्त सम्भावना बोकेको स्थान हो । यहाँ प्रबिधिक ज्ञान, नयाँ बिधि तरिकाको अभावमा यहाँको मानिसहरु जीवन जिउनको लागि मात्र खेती गर्ने गरेका छन । अबको बिकाशको लागि सम्भावना बोकेका केही कृषि उपज बारे जान्न आवश्यक छ ।
क) सुन्तला ः सुन्तला भकिम्लीको पहिचान बन्न थालेको छ । राखु, छाप, हल्लेगौडा, डाँडाखानी, बालम लगायतका स्थानमा प्रशस्त मात्रामा बिभिन्न जातका गुलिया सुन्तला फल्ने गर्दछन । सुन्तलाको जातमा विविधिकरण, गर्ने, तालिम, औषधिउपचार, स्टोर, तथा बजार व्यबस्थापन गर्न सकेको खण्डमा यहाँको सुन्तला उत्पादनको क्षेत्र बिस्तार हुनुको साथै यहाँको युवाले रोजगारको अवसर पाउने प्रशस्त सम्भावना बोकेको देखिन्छ ।
ख) आलु ः आलु पनि भकिम्ली बासीको पहिचानको कृर्षि उपज हो । भकिम्लीका मुसुङ, भुकभुके, थोतनेरी, रातखाल लगाएतका स्थानमा फल्ने आलु निकै स्वादिस्त हुने गर्दछन । यी स्थानमा पनि आलुको विऊ विजनमा बिबिधता, तालिमको अभाव, लगानीको अभाव, उत्पादित आलुको स्टोरको अभाव, साथै बजार व्यवस्थापन गर्न नसक्दा यहाँको जमिनको उत्पादकत्व खेर गैरहेको छ । आगामी दिनमा यस क्षेत्रको सम्भावनाको पहिचान गरि आवश्यक पूर्वधार बिकाश गर्न सकेको खण्डमा यहाँका थुपै युवाहरुले अर्थ उपार्जन गर्न सक्ने देखिन्छ ।
२) पशुपालन ः होचा प्रशस्त बन जंगल हुनु यहाँ पशुपालनको लागि आधारशिला हो । यहाँ गाई, भैसी, भेडा, बाख्रा, जस्ता पशुपालन गर्नको लागि निकै राम्रो सम्भावना बोकेको छ । नयाँ जातका पशुहरु, कृतिम गर्बधान गर्ने व्यवस्था, रोगका उपचार तथा पशुजन्य उत्पादनको खपत हुने बजार व्यवस्थापन गर्न सकेको खण्डमा पनि यहाँको युवाले प्रशस्त मात्रमा आम्दानी गर्र्दै आवश्य दुध,मासु, तथा पशुजन्य उत्पादन गरी आवश्यत्ताको परिपूर्र्ति तथा निर्यात समेत गर्न सक्ने सम्भावना देखिन्छ ।
३) बन, (बन जन्य उत्पादन)ः यहाँ वनजंगल भएता पनि यहाँ मानिसले दाउरा घाँसको लागि मात्र उपयोग गर्ने गरेका छन । यहाँका ठूला रुखहरुलाई फर्निचरको लागि प्रयोग गर्न सकेमा यहाँको ठूपै युवाहरुले रोजगार पाउन सक्छन । जसको लागि प्रविधिको प्रयोग, तालिमको व्यवस्था, तथा फर्निचरको बजार व्यवस्थापन गर्न सकिने देखिन्छ ।
४) पानीः पानी हरेक जीवको जिन्दगानी हो । यहाँ प्रशस्त मात्रामा पानीको प्रयोग गरि बिजुली निकाल्न नसकेता पनि यहाँको पानी शुद्धिकरण गरि बोटलमा बजार सम्म पु¥याउन सक्यो भने पनि केही युवाहरुले रोजगार पाउन सक्ने सम्भावना देख्न सकिन्छ ।
५) खानी ः खानी यहाँको आम्दानीको अपार स्रोतको रुपमा रहेको छ । मुसुङको बन डोलेखानी पहाडको गर्भमा प्रशस्त मात्रामा तामा खानी रहेको कुरा यहाँको स्थानियहरुले बताउने गर्दछन । यहाँबाट बिगतका समयमा तामा उत्खनन गर्ने गरेको ले यहाँ प्रशस्त मात्रामा खोलीएका प्वाल देख्न सकिन्छ । मुसुङमा बस्ने मगरहरु यहाँको खानी खन्न आएका तथा यहाँका दलितहरु तामा पगाल्न आएर बसेको यहाँका मानिसहरु बताउँछन । त्यसैले यहाको तामालाई उत्खनन गरि प्रसोधन गर्न सकेको खण्डमा थुपै तामाका उद्योगहरु संचालन गर्न सकिन्छ । भकिम्लीकै डाँडाखानी पनि तामा खानी रहेको कुरा स्थानिय बासीहरु बताउछन । मुुसुङकै गौथले, र चिरुवा पाखामा स्लेतका प्रशस्त खानी भएता पनि आर्थिक स्रोतको अभाव, तथा सिपयुक्त जनशक्तिको अभावमा उत्खनन गर्न सकिएको छैन । त्यसैले यस्ता खनिज उत्खननको लागि आधार तयार गरि दिर्घकाल सम्म उत्खनन गर्न सकेको खण्डमा यहाँका जनताको रोजगारक सृजना भई जीवनस्तर माथी उठाउन सहयोग पुन्ने देखिन्छ ।
६) पर्यटन ः भकिम्ली पर्यटनको पनि सम्भावना भएको क्षेत्र हो । हातले छोइएला झै लहरै रहेको दर्जनौ हिमालको अवलोकन गर्न सकिन्छ । जंगलमा शिकार गर्ने प्रबन्ध तयार गर्ने, लालिगुराश महोत्सव गर्ने, बेनी देखि बेलढुङगा सम्मका दौड, कला संस्कृतिको महोत्सव, तथा अग्ला स्थानमा बनभोको प्रबन्ध, सास्कृतिक कार्यक्र सहितको होस्टेको व्यवस्थ, स्थानिय अर्गानिक खानाको व्यवस्था आदि गर्न सकेको खण्डमा यहाँ प्रशस्त मात्रमा पर्यतय भित्राई मनग्य आम्दानी गर्न सकिन्छ । बेलढुङगा, चिप्लेती, डोलेखानी, स्वर्गआश्रम यहाँका घुम्न लायक स्थान हुन जहाँबाट म्याग्दी, बाग्लुङ, पर्बत तथा कास्की जिल्लाका बिभिन्न स्थान अवलोकन गर्न सकिन्छ । डोलेडाँडा, तोराखेत जस्ता स्थानमा प्यारागलाइडिङको सम्भाव्यता अध्ययन गरि त्यसको बिकाश गर्न सकेको खण्डमा पनि प्रशस्त मात्रामा पर्यटकलाई भित्राउन सकिन्छ ।
७) साँस्कृतिक धरोहरः भकिम्ली सास्कृतिक रुपमा पनि धनी मानिन्छ । यहाँ मगर तथा छन्त्याल जातिका भेषभुषा,रहनसहन, नृत्य तथा सुन्न लाएक छन । यसको बिकाश र प्रबर्धन गर्न सकेको खण्डमा पनि कैयौ हाम्रा सास्कृतिक धरोहर बचाउनको लागि टेवा मिल्ने देखिन्छ ।
भकिम्लीको विकाशको लागि गर्नै पर्ने कामहरु के के हुन ?
१) उल्लेखित स्रोतको पहिचान र बिकाशः स्थानिय सरकारका प्रमुखले माथी उल्लेखित कृषि,पशुपालन, बन, पानी, खानी, पर्यतटनको बिकाशको लागि अवधिक तथा दिर्घकालिन योजना बनाई निरन्तर प्रयास गर्नु पर्ने देखिन्छ । यहाँ भएका स्रोतका पहिचान गरी त्यसमा लगानी थप गर्दै स्थानिय बासिन्दाको अपनत्व ग्रहन गर्ने बाताबरण बनाउन सक्यो भने उन्नत भकिम्ली बनाउन सहयोग मिल्ने देखिन्छ ।
२) पूर्वधारको बिकाशः बेनी देखी भकिम्ली पुग्ने सडकलाई स्तर उन्नती गरी बाग्लुङको धम्जा, तथा अर्गल सम्म जोडने बाटोखोल्नु महत्वपूर्ण कार्य भनि यहाँको जनताको उपेक्षा छ । घरघरमा शुद्ध पानीको व्यवस्थापन, सुलभ स्वास्थ उपचारको व्यवस्थापन, गुणस्तरिय प्राबिधिक शिक्षाको व्यवस्थापन, शिक्षामा पहुजको सृजना, नयाँ पुल राखु हुदै डोलेडाँडा सम्मको केवलकारको सम्भाव्यतको अध्ययन र पूवधारको बिकाश, लोडसेडिङ मुक्त बिद्युत सेवा, आदिको बिकाश गर्नु यहाँको जनतको अपेक्षा हो ।
३) प्राकृतिक प्रकोपको व्यवस्थापनः तोराखेतमा देखिएको पहिरो तथा अन्य स्थानमा देखिएको खोला नदिको कटान यहाँको समस्याको रुपमा रहेको छ । तोराखेतमा जोखीममा रहेका बस्तीलाई पुनरस्थापना गर्नु, पीडितलाई राहत व्यवस्थापन गर्नु, तथा मनोबैज्ञानिक रुपमा सुरक्षित भएको महशुस गराउन सक्ने नेतृत्व भकिम्ली बासीले चाहेको छ ।
४) अन्धबिस्वास तथा कुरिती व्यवस्थापनः साक्षर भएर पनि यहाँ मानिसहरु धाकी,झाक्रि तथा बोक्सा बोक्सीमा बिश्वास गर्ने मानिसको सङख्या उल्लेखनिय देखिन्छ जसको कारण गालि बेइज्जति तथा ज्यानै जान सक्ने अवस्था देखिन्छ । जुवा तास, महिला हिंसा तथा पारिवारिक बिचलन प्रशस्त मात्रमा रहेको देखिन्छ । जसले समाजको बिकाशको गतिको बाधक बनेको देखिन्छ । यस्ता कुरिती व्यवस्थापन होस भन्ने भकिम्ली बासिको अपेक्षा रहेको छ ।
५) जातीय छुवाछुट ः भकिम्लीमा लामो समय देखि दलितहरुले जातीय छुवाछुट जस्तो अमानविय व्यबहार सहदै र भोग्दै आएका छन । अझै पनि सर्बजनिक भोजमा समेत एकै स्थानमा संगै बसेर खान सक्ने स्थीति सहज बनेको छैन । बिबाह, ब्रतबन्ध, तथा मृत्यूका संस्कारमा सामेल भएता पनि भोजको लागि छुट्टा छुट्टै बसेर खाने स्थीति भएको हुनाले २१ औ शताव्दिमा पनि छुवाछुट जस्तो कलंक रहिरहनु यहाँको बिदम्बना हो । यसको समाधानको लागि अवको दश महिना भित्रमै छुवाछुट मुक्त भकिम्ली बनाउन निम्न तिन तहमा कार्य गर्न आवश्यक देखिन्छ । क) स्थानिय तहको कानुन र कार्य योजना, साथै कार्य सम्पादनमा जातिय छुवाछुट अपराधको व्यबस्थापनको लागि स्थानिय बुद्धिजिवी राजनैतिक दलको प्रतिनीधि, शिक्षक, बिद्यार्थी, सरकारी तथा गैरसरकारी तहका सबै सरोकार वालाहरुको बिभिन्न चरणमा छलफल गरि आवश्यक योजना, पूर्वधार बनाई कार्यसमिति तयार गर्ने । जसको लागि आवश्यक बजेत व्यवस्थापन तथा रोडम्याप तयार गर्ने । (तिन महिना )
ख) स्थानिय गाँऊघरमा सबै सरोकार वालाको सहयोगमा जातीय छुवाछुटको बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्ने । छलफल, नाटक प्रदर्शन, साहित्यिक रचना लेखन प्रकाशन, रेडियो सामाग्री प्रशारण, ¥याली, सहभोज आदी जस्ता कार्यक्रम गर्ने । यसै समयमा छुवाछुट गर्नेलाई हुने कानूनी कारबाही को बिषयमा समेत प्रष्ट बनाउने । ( चारमहिना समय )
ग) यस चरणमा मनोबैज्ञानिक रुपमा सबै जातिका मानिस समान हुन भन्ने बनाउन जिल्ला तथा केन्द्रका प्रतिनिधी, पुजा पाठ र प्रबचन गर्ने व्यक्तिको भ्रमण तथा प्रबचन गर्न लगाउने । साथै छुवाछुट गर्नेलाई समेत कारबाही गरी, छुवाछुट मुक्त वडा समेत घोषणा गर्न सकिन्छ । (तिन महिना समय )

६) बिश्वसंग जोडने ः बिज्ञान र प्रबिधिको प्रयोग र यसलाई सबैको पहुच योग्य बनाई सबै जनतालाई बिश्वका मानिस संग नजिक राख्न इन्तरनेटको साथै नेटवर्कको उचित व्यवस्थापन गर्ने ।
७) रोजगारिको सृजना ः स्थानिय स्रोतको उपयोग र युवामा सिपको बिकाश गरि आत्मनिर्भर बन्ने बातावरण सृजना गर्नु महत्वपूर्ण पक्ष हो । दिन दिनै बिदेशिएका युवा रोक्न प्रशस्त रोजगारको सृजना गरी आत्मनिर्भर बनाउन उचित कदम बढाउन आवश्यक देखिन्छ ।
भकिम्लीमा कामको लागि चुनौति मात्र नभएर प्रशस्त मात्रामा सम्भावना पनि रहेको छ । यहाँको स्रोत साधनको उचित प्रयोग, आर्थिक लगानी , दिर्घकालिन सोच तथा योजना, र काम गर्नै इच्छाशक्ति भएको खण्डमा मात्र सुन्दर र बिकशित भकिम्ली बनाउन सकिन्छ । यस नगरपालिकाको कुशल नेतृत्वले यस भकिम्लीको मुहार फेर्न अधिकतम इच्छशक्ति देखाओस् , भकिम्ली बासिलाई पुन नेतृत्व चुन्ने अवसर सृजना गरोस यही भकिम्ली बासिको सपना हो ।
धनु लेकाली
बे.न.पा ३, म्याग्दी

Post a Comment

0 Comments