Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

उहीँ छोरो म

धनु लेकाली

साहुको पिडीमा कुकुर सँग भोको पेट भर्न ढुक्दा ढुक्दै,
निमोठिएर आगनमा
अचेत हुने गरि पछारिएको,
त्यही पछारिदै, निमोठिदै युग खाएको
जन्मदै भूमिहिन काले मुसहरको
उही कालो छोरो म।


गाग्री बोकेर पधेरोमा
बिहान ढल्न सम्म पालो कुर्दा कुर्दै
पानीको छिटो परेको नाममा
कपाल लुछिदै, लुथ्रुक्क भिजेर
उसकै जयजयकार गर्न बाध्य भएकी
निरीह आमाकी उही छोरो म ।
सनही ढोलक कर्नाल सँग
ठूला बडाको शुभ कार्य गर्न
अगि अगि दौडिरहदा
सनाईको भाका,
बाजको ताल नमिलेको बहानामा
झ्याक्कु झार्दै हिलोमा पछारिएका
उही संगितकर्मीको छोरा म ।
साहुको छोरा जन्मेको खुसीमा
धागो हाल्दै, बटन थल्दै
एक छाक मिठो खाने
सपना बुनेका त्यही सेते
लिखो परेका कट्टु सिलाउन नमान्दा
घाँटी थिचेर काल्नो खसाल्दा
बिउझन भुलेको त्यही निरीह बुबाको
उही छोरो म ।
गाईको छाला कारेर
सैनिकको जुत्ता बनाउदा
सम्मान पाएको मिजार काइला
जुत्ता फाटेको निहूमा
आफैले फेरेका टलुवाको कुटाईमा
आँखा गुमाएको त्यही मिजारको
उही कानो मिजारको छोरो म ।
पन्ध्र बर्षमै साहुको खेतमा
जिम्माल बा को छोराबाटै
आफ्नो कुमारीत्व गुमाएकी
सनातन सामान्तिहरुले कानूनको सिगौरी खैल्दै
नारित्व लुतिरहँदा,
अबैध सन्तानको आमा भएको निहूमा
गाँउबाटै खेदिएकी उही निरिह आमाको
उही छोरो म ।
प्रजातन्त्र, लोकतन्त्र गणतन्त्र सम्म आईपुग्दा पनि
शिक्षित भनाउँदाहरुकै घरबाट निकालिदा
सडकमै सरकारको लाठी खेप्दै
होटल, भोजहरुमा अपमानित हुदै
मानवताको सङ्खघोष गरिरहेको
त्यहि राक्षसी राज्यको बलिदिन तयार
उही छोरो म ।
धनु लेकाली
म्याग्दी ।

Post a Comment

0 Comments