Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

म हलो जोत्न आउँछु ।


म जन्मेको खबरले
खुसी हुँदा,
पहाड नागुलाझैँ उफ्रेर
खुसी हुनु भएको थियो रे
ती खुुुसी सायद
कहिल्यै फर्किएनन्
छोरा जन्मदा
हलो थाम्ने भन्दै,
गोठको भार भरि
बलियो हलो,
छोराको लागि भलो भन्दै,
हलो जम्मा गरिरहँदा
तिम्रो सपना बिर्सेर
एक्कासी खाडीमा रोएँ,
थालभरिको घ्यू भात बिर्से
गिलास भरिको दूध बिर्से
बिर्सिए सारा वनपाखा लेकबेंसी,
कुहुकुहु कोइलीको सङ्गीत
साथी दौतरीहरु,
कुइनेटाहरुको चिसो पानी,
रमाईलो गर्ने रोदी
छमछम नाच्ने,
मुखिया बा को त्यो ठूलो आँगन,
पोखरीनेरको लिङ्गेपिङ,
बाँसुरीका सुरीलो धुन,
मादलको जीउ तात्ने ताल,
पञ्चेबाजाका लहरी
सबै बिर्सेर आज
दुई कौडीको लागि
ज्यानको आहूति दिएर
रगत, पसिना पिएर
गोरु धसिएझैं बाँझोमा धसिरहेछु,
खेतमा एक डोको मल पुर्याऊ भन्दा,
कुम ठोक्ने म
दिन दिनै आफू भन्दा ठुलो
भारीमा पिसिरहेछु,
भोको पेट भेडासँग हराईरहेछु
झिनो आशामा बाँचिरहेछु,
पसिना पुछ्दै
सम्झन्छु तिम्रो माया ममता
मुटु दुखिरहेछ
साहारा पाउने तिम्रो इच्छा बुबा,
पहाड सँग पोखिरहेछु,
तिम्रो तालुका रौ झर्दा पनि
नाम्लोसँग साइनो छुटेको छैन होला
गोरुको काँधझैं हात
पटपट फुट्दा पनि
हलोले छोडेको छैन होला,
पैतला सडकझै बन्दा पनि
साहुको खेत धाउनु परेको होला
लाज ढाक्ने कपडा जालोझंै बन्दा
हातले लाज छोप्दै हिडनु परेको होला,
बाबा, फाली खस्यो होला
बिनारी हरायो होला
सुइरो भाँचियो होला,
बाबा म आँउदै छु,
तिम्रो हलो थाम्न
मलाई गुलामी बन्ने रहर छैन
यहाँ खुसी हुने प्रहर छैन
म गुन्द्रुक र ढिडो खान आउँछु
भट्ट मकै चपाउन आउँछु
दोहोरी, रोदीमा रमाउन आउँछु
आमाको भारी बोक्न आउँछु
बा’तपाइँको साहारा बन्न आउँछु
छिट्टै आउँछु
यो यमराजको शहरबाट
मेरै प्यारो, न्यानो
झिलमिल तारा चम्कने बस्तीमा
सानो खुसी लिएर आउँछु
यो नर्गको संसारमा नफर्किने
कसम खाएर आउँछु
बाबा, हलो बनाउँदै गर्नु
सपना बुन्दै गर्नु
म हलो जोत्न आउँछु
आफ्नै माटोमा
पसिना बगाउन आउँछु
सुनौलो बिहानीसँगै,
बाँझो खेतबारी
हरियाली बनाउन आउँछु ।।

धनु लेकाली
भकिम्ली एक, म्याग्दी


Post a Comment

0 Comments