Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

संस्मरणः आमाको मुटु


-रामेश कोइराला
“भाइ, तैंले पुष्पेलाई देखिस् ?” घर छिर्नेबित्तिकै कविताले सोधी ।
“किन ?”
“त्यो त मुखबाट राल काढ्दै कुकुरजस्तै भुक्दैछ,” बल्ल उसले कारण खुलाई ।
आमालाई घर पुर्‍याएर उसले हेर्न भ्याइसकिछे ।
“कैले आयो पुष्पे ? अनि के भाको रे त्यसलाई ?” छक्क पर्ने पालो मेरो ।
हाम्रो घरसामुन्नेको उसको मामाघरमा बस्ने मेरो गुच्चा खेल्ने साथी केही दिनअगाडि कालिकाझार गएको थियो । बाटामा लुरुलुरु उसैका पछिपछि आइरहेको कुकुरलाई जिस्क्याएछ, अनि त त्यसले हातैमा टोकेछ । दुईतीन दिनमै थाहा भइहालेछ, कुकुर बौलाहा भन्ने । पुष्पेलाई साह्रो हुन थालेपछि मामाघर ल्याएका रहेछन् ।
“ए कान्छा, लुगा लाउन आइज । माइजुसँग तँ र म बजार जाने,” जीवन दाजुले घरैबाट बोलाउनुभयो ।
आमाले आफूलाई फेरि गाह्रो भएको कुरा जीवन दाजुलाई भनिसक्नुभएछ र बजारमा पाल डाक्टरलाई देखाउन जाने निर्णय भएको रहेछ । म पनि हतारहतार हातमुख धोइवरि सेतो सर्ट र निलो हाफपेन्ट लगाएर तयार भएँ । यो स्कुल ड्रेस हाम्रा लागि बाहिर जाँदा लाउने राम्रो लुगा पनि हुन्थ्यो । आमा, जीवन दाजु र म एउटा रिक्सा चढेर लाग्यौं संगम चोकतिरै ।
बजारको काली मन्दिरछेउ पाल डाक्टरको क्लिनिक थियो ।
त्यसबेला भद्रपुर बजारमा चलेका दुइटा क्लिनिक थिए- नगर पञ्चायतभन्दा अलि तल डाक्टर ऋषिकेशको र बजारको पुछारतिर काली मन्दिरछेउ पाल डाक्टरको । सबै क्लिनिकमा दबाइ दोकान हुन्थ्यो अगाडिपट्टि र भित्रपट्टि बारेर बनाइएको हरियो पर्दा भएको सानो बिरामी जाँच्ने कोठा । कलकत्ता नजिकैको मालदा सहरले ‘मालदह आँप’ का साथसाथै केही बंगाली कम्पाउन्डरलाई पनि नेपाल छिराएको रहेछ अनि नजिकैको ठाउँ भएर हुनुपर्छ, झापामा त्यस्ता ‘डाक्टर’ को बिगबिगी नै थियो । त्यस्तै डाक्टरका श्रेणीकै भए पनि जाँचेको चाहिँ पैसा नलिने पाल डाक्टर त्यसबेला भद्रपुरबासीका लागि ‘मालदह आँप’ जस्तै गुलिया थिए । दबाइ दोकानबाट दबाइ बेच्दा कति नाफा लिन्थे, त्यो हामी भद्रपुरेलाई ‘मतलब’ को कुरा पनि भएन । हामी त आँप खानका सोखिन, कोया गन्न बसेका हौं थोडै !
हामी पाल डाक्टरकहाँ पुग्दा दोकानवरपर निकै भीड थियो । सायद अलि सिकिस्त बिरामी भनेर होला, हामीलाई दोकानमा बसेका मान्छेले पालो नकुराइकन तुरुन्तै भित्र लगे ।
म पनि आमा र जीवन दाजुसँगै भित्र पसेँ ।
एउटा सानो कोठा, एकातिर अग्लो तर सानो बिरामी जाँच्ने खाट, काठको ठूलो टेबल, त्यसको पारिपट्ट बिसेको एउटा कालोकालो मान्छे, वारिपट्ट िसाधारण काठका दुईतिनटा कुर्सी ।
यही श्यामवर्णका मान्छेचाहिँ पाल डाक्टर होलान् ! मलाई त्यति राम्रा लागेनन् ती बंगाली डाक्टर र क्लिनिक । न मेरो सोचाइजस्तो राम्रो कोठा थियो, न त डाक्टर नै रातापिरा ।
आमालाई डाक्टरनजिकै पारेर जीवन दाजु बस्नुभयो, मलाई पनि एकातिर ‘बस्’ भन्दै ।
“के भयो तपाईंको दिदी ?” बंगाली लवजमा सोध्न थाले, मलाई मन नपरेका पाल डाक्टरले ।
केही कुरा जीवन दाजुले र निकै कुरा आमाले सुनाउनुभयो । कति कुरा बुझिनँ पनि । जे होस्, लामो गन्थनपछि आमालाई खाटमा सुत्न लगाउँदै उनी उठे र जाँच्न थाले । नाडी छाम्ने, पाखुरामा ब्लड प्रेसर लिने, स्टेथस्कोपले छातीमा राखेर लामोलामो सास तान्न लाउँदै जाँच्ने, पेट छाम्ने र आँखा, मुख टर्चले हेर्ने काम त सबै डाक्टरले गर्नुपर्दो रहेछ जस्तो लाग्यो । केहीबेर जाँचिसकेपछि ‘उठ्नुस्’ भन्दै डाक्टर आफ्नो कुर्सीमा बसे ।
“सास फुलेको लागि छातीको एकटा एक्सरे गराइलिनुस् भोलि । आजलाई यो दबाइहरू लिइलिनुस् र भोलि एक्सरे हेरेर अरू दबाइ दिइदिन्छु । भालो हुन्छ, दिदी ।”
त्यसबेला भद्रपुर अलि चल्तीकै रहेछ । पूर्वको वीरगन्ज बन्ने दम्भ बोकेको भद्रपुरले महेन्द्र राजमार्गको उद्गमस्थल बन्ने मौकाधरि काँकरभिट्टालाई बुझाउनुपरेकोमा समेत चिन्ता गरिहाल्नुपर्ने भइसकेको रहेनछ । सायद निकै पुगिसरी थियो र त ‘घमण्डी’ बनेको रहेछ भद्रपुर ।
भद्रपुरको अस्पतालमा र बजारमै पनि एक्सरे हुँदो रहेछ । पाल डाक्टरकोमा दबाइ किनेर त्यहाँभन्दा अलि मास्तिर एक्सरे गराइवरि हामी घर फक्र्यौं, रिक्सामा । तर मेरो रिक्साचढाइ त्यति राम्रो भएन । दुई जना ठूला मान्छेको बीचमा आधा बसेजस्तो अनि आधा उभिएजस्तो ।
भोलिपल्ट स्कुल जानुभन्दा पहिले एकाबिहानै आमा र म बजार गयौं अनि एक्सरे लिएर पाल डाक्टरकोमा पुग्यौं, रिपोर्ट देखाउन ।
पाल डाक्टरले त्यो कालो एक्सरेलाई निकैबेर नियाले ।
फेरि सुत्न लगाएर स्टेथस्कोपले जाँचे । भुँडी छामे । अनि बसे ।
“तपाईंको दिदी छातीमा परेसानी छैन । सास फुलेको त बच्चादानीको कारणले हो । पाँच दिनसम्म रोज दुटा सुई लगाइलिनुस्, भालो भइजान्छ,” डाक्टरले कागजमा लेख्दै भने ।
बल्ल रोग पत्ता लाग्यो अनि निको पनि हुने भइयो भन्ने आभाससँगै आमाको मुख उज्यालिएजस्तो लाग्यो मलाई । खिसिक्क हाँसेर आभार व्यक्त गर्दै आमाले डाक्टरसँग कागज लिनुभयो ।
“एकटा सुई बाहिर लिइलिनुस् अहिले र सामको दुसरा लिनुस् ।”
दोकानमा बसेका मान्छेले अर्को बिरामीलाई भित्र पठाएर हामीसित कागज लिए । अरू केही चक्की ठिक्क पारेर काउन्टरमै राखे । आज पनि झोल दबाइ नदेखेर मचाहिँ अलि खिन्न भएँ । ती मान्छेले आमालाई नजिकैको मुढामा पाखुरा खोलेर बस्न लगाए । एउटा स्टिलको भाँडोबाट सनासोजस्तोले च्यापेर सिसाको सुई निकाले र स्टिलकै चारपाटे थालमा राखे । सानो सिसीमा भएको दबाइमा पानी मिसाएर निकै रमाइलोसँग हल्लाईहल्लाई सुई बनाए । झुक्किएर मलाई लगाइदियो भने ?
नजानिदो पाराले तीनचार कदम पछि हटिहालेँ । छानातिर फर्काएर सुईबाट दबाइको सानो पिच्कारी लगाइसकेपछि एउटा हातले पाखुरामा रुवा दल्दै घ्वाप्प सुई लगाए ।
आमा र मेरो दुवैको मुख बांगियो, आमालाई दुखेर अनि मलाई देखेर ।
पैसा तिरीवरि हामी घर फक्र्यौं रिक्सामै । आजचाहिँ राम्ररी बस्ने ठाउँ पाइरहेको थिएँ तर के गर्नु, अलि ओरालो परेको चिल्लो सिट, जति कोसिस गरे पनि नअडिने । भुइँमा खुट्टा राख्नैपर्ने अनि खुट्टा राख्न नपुग्ने हामीजस्ता फुच्चेले चाहिँ खाली रिक्सामा पनि आधा बसेजस्तो, आधा उठेजस्तो गर्नुपर्ने । रिक्सावालको सिटको पछाडिको घुम्रिएको रडमा नसमाते त हरेक मोडमा लडुँलाजस्तो हुने ।
घर आएर हतारहतार खाना खाएर स्कुलतिर लागेँ, बाटाभरि कवितालाई डाक्टरको कथा भन्दै । उसले पनि रहर गरी- भरे त म पनि जान्छु ।
दिनैपिच्छे पाखुरामा सुई लगाएकाले हातै चलाउन नसकिने गरी साह्रो दुख्दो रहेछ । त्यसैले कविताको भान्छामा काम बढ्दै गयो र तेस्रो दिनदेखि ऊ जान नभ्याउने भई । आमा र म गइनै रहृयौं । सुई लगाउने र चक्की खाने काम भनेबमोजिम नै पुरा गर्नुभयो आमाले ।
अन्तिम सुई लगाएर आमा र म फर्किंदै थियौं, कविता दौडिँदै बाटोसम्मै आई ।
“भाइ, थाहा छ ? पुष्पे त मरेछ !”

(कोइरालाको हालै सार्वजनिक पुस्तक आमाको मुटुको अंश

Post a Comment

0 Comments