Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

कविताः ‘मेरी जंगली साथी “


तिम्रा हाकिमहरुले
एस्ट्रेनजिकै धुँवा उडाईरहे
तिम्रो जिन्दगी जलाएर
तिमी उनिहरुका ‘वाद’को पछी लाग्यौ
मार्क्सवाद
लेलिनवाद
अनी यस्तै के के
तिमीले उनिहरुलाई महलमा पुर्‍यायौ
र आज
उनिहरुले तिम्लाई झुपडीमै फर्काए
‘जनमुक्ती’ दिलाएर ।।

अझै सम्झिन्छु
तिमीले दुधेनानी छोडेर
जंगल पसेको
पँधेरामा तिम्रो धेरै कुरा चल्थे
कहिले मरेको कुरा सुनिन्थ्यो
कहिले बाँचेको कुरा सुनिन्थ्यो
र हिजो भर्खरै
तिमी घर फिर्ने कुरा सुनेँ
बन्दुक बिसाएर
तिम्रा हाकिमहरुको समाचार त
मैले पढ्नै छोडिसकेँ
सुन्दैछु
तिमी त ‘अयोग्य’ भयौ रे
र स-सम्मान फिदौछौ रे । ।

तिमी जंगल पसेको मूल्य
सायद थाहा होला तिमीलाई
कठोर मुटु लिएर आउनु
म तगारोमै सोध्नेछु तिमीलाई
तिमीले अन्त्य गरेको ‘सामन्तवाद’ बारे
तिमीले छियाछिया पारेको ‘पूँजीवाद’ बारे
मेरो प्रश्नहरुको डोको
लगभग भरिन लागेको छ
तिम्री छोरी
वह पोख्ने गर्छे आजकल
उसले गुमाएको काखबारे
र उसले भोगेको मौनताबारे
म उसितै मौन छु आजकल
मेरी जंगली साथी
तिमीलाई पर्खिरहेछु
बाटोभरीका रुखहरुको गुनासो
सकेसम्म छिचोलेर आउनु
तिमीलाई म/हामी स्वागत गर्नेछौं
‘महानता’को खादा ओढाएर । ।
- प्रदीप चापागाई

Post a Comment

0 Comments