Ticker

10/recent/ticker-posts

Notice Board

 


नमस्कार । यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं । यहाँहरुले लेखेका/रचना गरेका कुनै पनि साहित्यीक रचना छन भने हामीलाई पठाउनु भयो भने हामी पाठक सम्म पुर्‌याउने छौँ । ठेगाना dhanulekali@gmail.com

कविता : किसानकी छोरी



थिए नेपालीका तनय विनयी पुण्य युगमा
हिमाली डाडाको सुमन बटुली घुम्न भवमा ।
लिई इच्छा ठूलो प्रवल मनले निश्र्चय गरे
प्रभाती बेलाको शुभ समयमा साइत गरे ।।

सजीएको आफै प्रकृतिपथको आश्रय लिदै
उकालो ओरालो सरल गतिले पार गरदै ।
अहो एक्लै खेल्दै विविध बनका पुष्पस्तवक
बटुल्दै शोच्थे ती लगन शुभ भो जीवन तक ।।

क्रमैले बिस्तारै भ्रमण गरदा पुष्प थलको
अहो देखे डाडो अति चहकिलो हैम गिरिको ।
जगत् यात्रा गर्दा उदयगिरिमा सम्रिक दिने
प्रतापी मार्तण्डी–पवन गतिमा मोहित बने ।।

सुनौला छायाले धवल हिमको उच्च शिखर
सिगारेको देख्दा युवक त भए निश्चल, तर ।
वसी आभा हेर्दा पिपल तरुको आश्रम मुनी
भने “हो नेपाल प्रणय–भवमा पुष्प अवनी” ।।
ससाना पानीका कणहरु महाँ सूर्य किरण
सदा झै पर्दामा टलक बढदा भौक्तिक कण ।
बनी चम्के ज्यादै टिलपिल गरी त्यो समयमा
थपी नौलो शोभा त्रिभुवन भरीको चमकमा ।।
बसी चौपारीमा युवक कलिला दृश्य सकल
जती देखे बिर्से सम बनी रहे आखिर पल ।
त्यहाँ जस्तो देखे नजर उसमै केन्द्रित गरे
प्रशंसामा साच्चै विमल गुणको बर्णन गरे ।।
उचा यै डाडोको पवन थलमा मन्दिर छ नी
अझै बस्छन् जस्मा पशुपति उमा शुध्द छ भनी ।
जगत्का पुण्यात्मा जनहरु बुझी शैव–महिमा
पुगी कैलाशैमा सकल सिकथे तत्व गरिमा ।।
छ है राम्र्र्रो फाँटै अझ पनि यहाँ दक्षिण तिर
जहाँ नेपालीका कृषकहरुले जीवन भर ।
लिई दैवी आस्था श्रम अति गरी कर्म गरदै
रहेका देखिन्छन् सरल जनमै सिध्द गरदै ।।
श्रमै ठूलो गर्नू सरल पनता व्यक्त गरनु
कसैलाई कष्टै सकभर याहाँ पर्न नदिनु ।
यही नेपालीको प्रणय युगकै धर्म त थियो
अहो देख्दा यस्तो जगत सवले तालिम लियो ।।
हलो जूवा बोकी कृषकहरुको एक जमक
लिएका कोदाली करयुगलमा अन्य जमक ।
धरी डोको पीठ्मा मल सहितको शान्त शमक
हिडेका देखिन्थे पवन तटको खेत तरफ ।।
सबैका देखिन्थे बदन हसिला शान्त सरल
सबै हाँस्थे खेल्थे मधुर लयमा गीत गजल ।
सुनाई यात्रीको मृदुल मुटुको दर्द हरदै
पुगे क्यारे खेत्मा प्रकृति सितनै मेल गरदै ।।
यिनै मध्ये कोही कृषक–दुहिता एक सरला
लिई हात्मा टापू चपल बिजुली तुल्य धवला ।
त्यही खेत्को फाँट्मा शुभ समयमै पुग्दछु भनी
हिडेकी देखिन्छिन् पवनपथमा धर्मभगिनी ।।
थियो सारी खैरो तर गहकिलो शुध्द गुणले
बुनेको तानामा बिविध वनका सूत्रहरुले ।
किनारमा सेतो रहनु यसको सत्व गुण हो
उनीले पैह्रेको वसन महिमा सिक्नु छ अहो ।।
चिटिक्कैको राम्रो तन छ उनको शुध्द कसिलो
थियो चोलो साधा शुक रङ भएको चहकिलो ।
रसाएरै हो की वसन बिधिले शुध्द गुणले
मिलेको देखिन्थ्यो प्रकृति सितको स्निग्ध वयले ।।
समुद्रैले पृथ्वी कमर जसरी शुध्द रुपले
घुमाएरै बेरे सम गरिकनै शान्तस्वरले ।
सजाई बेरेको कमर उनको पूर्ण रुपको
थियो सारी माथी वसन पटुका पीत गुणको ।।
मुनाली बर्णैको कुटिर गुणले मिश्रित सिधा
पछौराले उन्को विविध सुषमा व्यक्त गरिदा ।
शरच्चन्द्रै शोभा प्रतिपल बढेझै हुन गयो
नया नौला सारा बसन सवको हुर्मत भयो ।।
चुरा बज्थे हात्का छमछम गरी पाउ चलदा
बडो शोभा दिन्थे करयुगलमा फन्न घुमदा ।
खिची लिन्थे आफै हृदय सहसा जन्तुहरुको
स्वभावै हो यस्तो नरम गुणका बस्तुहरुको ।।
उनीका ती पाऊ प्रकृति जननी साथ मिलथे
तिखा काँडा ढुङ्गा बगर कुनले घोच्न सकथे ।
सुरक्षामा आफै प्रकृति जननी व्यस्त रहदा
भए उन्का पाऊ प्रवल कि ! सदा मार्ग हिडदा ।।
समाजैमा हुर्की अनुपम भएकी मधुमती
बढाई पुर्खाका विमल गुणले आस्तिकमती ।
उनीका ती राम्रा मृग नयनले शान्त रुपले
पुरै नौलो शिक्षा गरन सकथे स्पस्ट रुपले ।।
नया टेढा बाङ्गा बिषम सवको गर्व हरदै
महात्माले जस्तै विपुल भवमा ज्ञान छरदै ।
सबै माथी चोखो प्रणय गरदै मौलिक बनी
जिते आँखीभौले प्रकृतिबधुको मञ्जुल अनी ।।
ललाटैमा उन्को चतुर बिधिले पुण्य थलको
सजाई राखेको समरुप भएको अटलको ।
थियो नक्सा क्यारे विमल गुणको ज्ञान भरने
भयो यस्ले गर्दा भुवन भरको चित्त हरने ।।
थिए काला चिल्ला सरल रङका केश सकल
कतै काँही छैनन् विषम गुणका रोम–शकल ।
न देखिन्थ्यो उन्को अनिल कवरी कृतिम पन
न देखिन्थ्यो कैल्यै अनिल कवरी विकृति पन ।।
टलक्कै टल्केका टहटहगरी पूर्णरुपमा
थिए मोती जस्तै तिमिरहरने दन्त मुखमा ।
जगत् छक्कै पथ्र्यो प्रहसन हुदा शान्तरुपमा
अनी शोच्थ्यो यस्तो चतुर बिधि हो धन्य जगमा ।।
थियो ज्यादै राम्रो वदन उनको चन्द्र छवि झै
न देखिन्थ्यो काँही कस पनि कुनै बिम्ब बिचझै ।
बिधाताले रच्दा विविध शिपले कौतुक गरी
भयो क्यारे माथी शशिबदनको हुर्मत गरी
थियो छाती आहा कृषक जगमा पुष्ट कसिलो
सबैले निष्पक्षै सित दिन दिनै हेर्न सजिलो ।
नया नौला राम्रा अमुक सबले शान्तरुपमा
गरे सेवा कयारे पवन रितले पूर्ण रुपमा ।।
अहो यी बैनीको नरम गुणको पूर्ण उरको
दिने शोभा राम्रो तनयुगलती शुध्द रुपको ।
तुरुन्तै देख्दामा हृदय तिरनै मार्मिक गति
दिदै फ्याक्दो छ क्या कुशुमशर ती दर्शक प्रति ।।
खडा थे छातीका दुईतिर रहेका कुच दुई
रसीला पुण्यात्मा नृपतिहरुका सैनिक भई ।
इसारा यी गर्थे कुन जन यहाँ कल्मष सित
गरी टेढा आँखा रहन सकला के सुख सित ।।
फिका लाली पैल्यै हृदयत गरिन् शिघ्रबदर
रङिएको आफै प्रकृति दुहिताको छ अधर ।
घुमी राख्ने हावा जति छ जगमा पूर्ण गतिले
ग¥र्यो यस्ले मात्रै अधररसको पान मुखले ।।
पहारामा उन्का युगल कुच ती व्यस्त रहदै
गरे क्यारे रक्षा कृषक दुहित–भक्त वनदै ।
अहो सुन्दा यस्तो कृषक जगमा नित्य घुमने
सिधा हाम्रा भाई चकित बहुतै क्यान न हुनने ।।
चनाखा ज्यादै भै युगल कुचले सैनिकरुप
लिएका देखिन्थे कथित जनमा भर्न सुरुप ।
जती देख्थे यस्तो पवनपथमा दृश्य पथिक
भने छक्कै पर्दे कृषक तनया शुध्द अधिक ।।
कलिली ती बैनी प्रतिपल अहो कर्मपथमा
हिडेकी देखिन्छिन् अमुक सवको दृष्टिपथमा ।
सजाएको आफै प्रकृति सुतको मार्ग जुन हो
 यसै द्वारा खेत्मा पुगन सकनु प्रेम गुण हो ।।
कवीच्छा वेदीमा प्रतिपल घुमी बिम्वित भई
अहो यै शोच्दै थे कवि पिपलको आश्रय लिई ।      
अकस्मात गुञ्जिई बिविध खगको चिर्बिर ध्वनी
भई जागा हेरे बरपर थिइनन् अव उनी ।।

लक्ष्मीराज शर्मा पौडेल 
कुश्मा पर्बत


Post a Comment

0 Comments